त्यो दिन जब
मेरो मुटुको सिंहासनमा
मृत्यका चीसा हातहरुले
बेजोड ङ्याक्दै मलाई अँठ्याउँछन्
र जमाउँछ उसले आधिपत्य
दौड्नेछ् एउटा अभूतपूर्व संगीत
मन मस्तिष्कका प्रत्येक शिरा-शिरामा
त्रासदीपूर्ण झन्कारसहित ।
अनि निस्तेज मेरा हातगोडा
सबै अवयव यस नश्वर शरीरका
असहाय, अशक्त रहे पनि
स्वर चिम्टीबाट आवाज नआए पनि
अन्तर्मन बोल्नेछ-भीक्षाम् देही
जीवन त्राणको पुनः प्राप्तिका लागि
अनुनय विनयको क्रन्दन गर्दै ।
निरीह बबुरो म निर्धो बनेर
अन्तिम सासको सकसमा परेर
बेसूरको दृष्टिले आकाश नियाल्दा
पौंठेजोरी खेल्दै मृत्युसँग जुध्दा
दार्शनिक मुद्रामा गम्भिर बनेर
मेरो अवस्थाको आँकलन गर्दै
राख्नेछन् आफन्तले आ-आफ्ना विचार
पीडा सुसेल्दै भावविहृवल भएर ।
एकथरि भन्नेछन्-
तुलसी र सुनपानी देऊ
अर्काथरि भन्नेछन्-
दशदान गर
कोही भन्नेछन्- राम नाम जप
कोही भन्नेछन्- गीता पढ
सन्निकट पीडाको आगमनमा
दुखैदुखको त्यो हुनेछ पर्व
स्तब्ध, विक्षिप्त, दुखी बनेर
रुनेछन् मनमनै कति व्यथा सहेर ।
मृत्युकै होमटाउन रंगशालामा
जुध्दै म ऊसँग असमान प्रतिस्पर्धामा
मेरो जीतको कामना गरिए पनि
अन्तिम सत्यकै विजय घोषणापछि
बदलिनेछ परिदृष्य एकाएक त्यहाँ
घोत्लिनेछन् सबै मृत्युको
आत्मबोध अनि वास्तविकतामा ।
रुनेछन् कोही डाँको छोडी दृष्य एकमा
सम्झाई बुझाई गर्नेछन् कोही दृष्य अर्कोमा
कोही भन्नेछन्- हरे दैव अनर्थ भो !
जुन प्यारो समाजलाई
त्यही प्यारो तँलाई पनि भो !
सम्झना, सम्भावनाको लेखाजोखाबीच
परिवार डुब्नेछ व्यथा वियोगमा ।
अन्तिम अभौतिक अभिनयसँगै
सकिनेछ कथा मेरो यस रंगमञ्चको
नहेरिनेछ मुहर्त अब नहुनेछ ढंग
अनि बज्नेछ एउटा बेसूरको शंख
ओढेर एक छाल टम्म कात्रो
बिदा लिनेछु सबबाट सदार्सवदाको ।
अपितु सत्य अनि शाश्वतको
गुन्जिनेछ गीत एक अत्यासलाग्दो
'राम नाम सत्य हो'
थप्नेछन् अरुले पनि
'सत्य बोल गत्य हो'
बिसाई चिन्ताको भारी यहाँ
अन्तिम दृष्यको म पात्र
सल्किनेछु् चितामहाँ
थाहा छैन के हुन्छ पुनर्जन्मको
तर एक प्रश्न रहिरहनेछ मनभरिको-
फेरि मिलन हुन्छ कि-
म र मेरी धर्मपत्नीको ?
-2066-10-16
No comments:
Post a Comment