Monday, January 25, 2010

जीवनको लिलामी

तपाई जस्तै मेरो र उसको जस्तै हाम्रो
जीवन लिलामीमा चढेजस्तो छ
हिजोसम्म गोप्य टेण्डर हाल्नेहरुबीच
खुला लिलामीको होड चलेजस्तो छ ।

उमेर वर्ग लिंगको कुनै भेद नराखी
दोषी निर्दोषी पनि नछुट्याई
As is where is को आधारमा
केरकार समेत नगरिकनै
फाइल जीवनको बन्द हुन्छ जस्तो छ

सावधान
जीवन तपाईंको मूल्य तपाईंको
तर स्वयं बेखबर बेमतलब रहँदा पनि
तपाईको मोलतोल होला जस्तो छ
विरोधको ब बोल्न नपाउँदै
तपाईको काम तमाम होला जस्तो छ

पेटको जोहो गर्न एकतमासले
नंग्रा खियाउँदै गर्दा होस् वा
थकित जिऊ लिई साँझ
घर फर्किदै गर्दा,
जीवनमा तपाईको खेलवाड होला जस्तो छ
किन ? कसले ? को उत्तरै नपाई
जीवन तपाईको लिलाम होला जस्तो छ ।

No comments: