पृष्ठभूमि
गत वैशाख १२ र २९ गते नेपालले विनाशकारी दुई ठूला भुकम्पहरु बेहोर्यो । हजारौँको ज्यान गयो । लाखौँ पशुपंक्षीहरु मारिए । विश्व सम्पदामा सूचीकृत संरचनालगायत हजाराँै हजार संरचनाहरु क्षतिग्रस्त भए । बस्तीका बस्तीहरु विस्थापनको जोखिममा परे । देशमा भयावह संकट आइलाग्यो । आफ्नै बलबुत्तामा तंिग्रन नसक्ने अवस्थामा पुुग्यो देश । बारम्बारका पराकम्पनहरुका कारण बाँचेकाहरु पनि सुरक्षाको खोजीमा अन्यत्र हानिए त कोही खुलास्थानतिर त्रिपालको बास गर्न बाध्य भए । देशको राजधानी शहर समेत प्रभावित जिल्लामा रहेको कारण राष्ट्रिय अन्तराष्ट्रिय चासो र समाचारको विषय बन्यो । देशबाहिर तथा जिल्लाबाहिरबाट स्थलगत समाचार र सूचनाको माग बढ्यो । समय समयमा अद्यावधिक भैरहने क्षतिका सूचनाहरु मूलधारका मिडियामार्फत यथासमयमै सम्पे्रषण हुन नसक्ने भयो । समय, स्रोत, पहुँच र प्रशोधन पद्दतिको हेक्का राखेर आउने त्यस्ता मूलधारे समाचारले सूचनाको पर्खाइमा रहेका मानिसहरुको अधैर्यतालाई सम्बोधन नगर्दो रहेछ । अरु विषय भए शायद मानिसहरु पर्खिन्थे होलान् । कुरा जीऊ ज्यानको थियो । भावी सुरक्षाको थियो । त्यसैले हरेक मान्छे आ–आफ्ना ढंगले नयाँ कुराहरुको जानकारी लिन र अरुमाझ बाँड्न ज्यादै आतुर रहेको पाइयो । र त्यसका लागि सामाजिक सञ्जाल माध्यम बन्न पुग्यो ।
भनिन्छ, विपत्तिमा मान्छे नाना थरिका विवशताहरुले घेरिन्छ । र ती विवशताको प्रकटीकरण उसको व्यवहारमा हुन्छ । परिणामतः उसका अस्वाभाविक व्यवहारहरुले समग्र वातावरण नै कोलाहलमय हुन्छ । र अराजक पनि हुन्छ किनकि त्यतिबेला मानिसका विवेक र तर्क एवम् विज्ञान उसको संवेगको फन्दामा परिसकेको हुन्छ । शैक्षिक अवस्था कमजोर रहेको समाजमा यस्ता संवेगहरु कुद्ने रफ्तार अझै बढी हुन्छ । भुकम्पीय त्रासदीको बेला हामी कहाँ पनि त्यस्तै त्यस्तै भयो । फेसबुक, ट्वीटर तथा यूट्युवजस्ता सामाजिक सञ्जालहरु त्यस्ता व्यवहार तथा अभिव्यक्तिका लागि शसक्त माध्यम बने । प्रस्तुत आलेखमा देखिएका तिनै प्रवृत्तिहरुको चर्चा गरिएको छ । सामाजिक सञ्जाल आफैमा अध्ययनको गहन र व्यापक क्षेत्र भएकाले सीमित आयामहरुमात्रै यहाँ समेटिनेछ ।
सूचनाको अग्रदूत
माथि भनिएजस्तै भुकम्प आएको खबर मानिसहरुले सामाजिक सञ्जालहरुमार्फत लिने गरेको पाइयो । त्यसको कारण पत्रकार, भूगर्भविद तथा कहलिएका अन्य व्यक्तिहरुले आफना सञ्जालहरुमार्फत तत्कालै गर्ने गरेको अप्डेटहरु रहेको पाइयो । रेडियो, टिभि तथा अन्य अनलाइन पोर्टलले समाचारको पुष्टि गरी सम्प्रेषण गरुन्जेल मानिसहरुले आफ्नै ढंगले समाचार पोस्ट वा पुष्टि गर्ने गरेको पाइयो । सूचनाको विश्वसनीयताको लागि भन्दा पनि भुकम्प गए नगएको कुरा यकिन गर्न वा आफुलाई लागेको कम्पन क्रस भेरिफाइ गर्न फेसबुकका भित्ताहरु वा ट्वीटरका टाइमलाइन हेर्ने गरेको पाइयो । कतिपय मिडियाकर्मी र मिडियाहाउसहरुका पोस्टिंग पनि सूचनाको यही भोक मेटाउने दौडमा रहेको पाइयो । टाँसिएका तस्वीरहरु एवम् भिडियोहरुले मानिसका आफ्ना बुझाइलाई बल प्रदान मात्रै गरेनन् बरु सूचना अथ्र्याएर टोल छिमेकका विवश अनुहारहरुमाझ ूझण्डै विज्ञूको परिचय बनाउन समेत टेवा पुर्याए ! सोसल मिडिया प्रयोगकर्ताहरुको हकमा पोष्ट गरिएका समाचार, अनुभव तथा विचार लाइक गर्ने तथा सक्दो चाँडो सेयर गर्ने वा रिट्वीट गर्ने प्रवृत्ति आम बानीको रुपमा देखियो । गृह मन्त्रालयको अप्डेट, भुकम्प मापन केन्द्रका सूचना, विभिन्न गैर–सरकारी संघसंस्थाहरुका उद्धार तथा राहत कार्यहरुबारे मानिसहरुले सामाजिक सञ्जालबाटै बढी थाहा पाए । यस अर्थमा सामाजिक सञ्जाल सूचनाको अग्रदूतको रुपमा काम गरेको पाइयो । सबिस्तार र फलो अप समाचार भने मुलधारका मिडियाले पछिमात्रै समेटे ।
विचारको बाढी
संवेगले घर गरेका बेला मान्छे ज्यादै कमजोर हुन्छ । ऊ तर्क र विज्ञानसमेत बिर्सन पुग्छ वा तत्क्षण विवेकको निर्देशनप्रति उदासीन भइदिन्छ । यही कारण होला विज्ञानले गर्ने जिकिरहरु उछिनेर सोसल मिडिया प्रयोगकर्ताहरुले अनेकौँ विचारका बाढी बगाए । हुन त विचार आखिर विचार हो तर मान्छे स्वयम् डराएका बेला उसका विचारसँगै मिल्दो जुल्दो विचार कतै प्रेषित भएको देखियो भने उसको भय झन सबलीकृत हुँदो रहेछ । अब केन्द्रविन्दु काठमाण्डौँ हुनसक्ने, काठमाण्डौ भास्सिन सक्ने, यसपछि ठूलो भूकम्प आउने, यति बजे फेरि ठूलो भूकम्प जाने, शनिवार र मंगलबार भुकम्पीय त्रासदीको इतिहास दोहोरिने, नेपाल हाइटी हुने , चिली र इन्डोनेशियाले भोगेको क्षति अब नेपालले व्यहोर्ने आदि डरलाग्दा विचारहरु देखिए । त्यसैगरी भुकम्पले सिकाएका पाठ, नेपाली भूबनोट, हिमालय क्षेत्र र भूकम्पीय खतरा, विपद व्यवस्थापन र कानुन, अन्तराष्टिय सहयोग, मानवीय संकट र धर्मविस्तारको सम्भावना, विपद र विभेद, अबको बाटो आदि इत्यादि शिर्षकहरुमा विचारका थरिथरि स्वरुपहरु देखिए । सामाजिक सञ्जालले वैकल्पिक विचारको फेहरिस्त देखायो । यिनै विचारका कारण कतिपय विषयमा थप विमर्श तथा वहसहरु भए । सबै विचारलाई अटाउन नसक्ने मूलधारे मिडियाको सीमिततालाई सामाजिक सञ्जालले उचित क्षतिपूतिृ ग¥यो । दर्शक पाठकका संक्षिप्त विचारहरु भक्स पप र पाठक मञ्चबाहेक प्रायः अन्यत्र नअटाउने मुलधारका मिडियाको तुलनामा सामाजिक सञ्जालले विचारको ठूलो हिस्सा समेट्यो । यसको सौन्दर्य नै सहभागिता हो र त्यो बन्यो । यस अर्थमा हरेक प्रयोगकर्ता विचारक को रुपमा प्रस्तुत भयो र कुनै न कुनै ढंगले विविध विषयका बहसमा सहभागी भयो । केही डर, केही निराशाका स्वरहरुबाहेक अधिकतम विचारहरु तर्कपूर्ण देखिए, सकारात्मक तथा सिर्जनात्मक रहे ।
आक्रोशको विसौनी
भूकम्पीय विपदमा पीडितहरुले सहयोगको याचनामात्रै गरेनन् । समयमा उचित प्रतिकार्य गर्न नसकेकोमा सरकारप्रति आक्रोश पनि व्यक्त गरे । आक्रोशको लवज ज्यादै तिख्खर रह्यो । संसदमार्फत संकल्प प्रस्ताव पारित गरेर आफू जनताको साथ उभिएको सन्देश दिन खोज्दा पनि सिंगो सरकार र राजनैतिक दलहरुप्रतिको विश्वासमा खासै सकारात्मक परिवर्तन देखिएन । उल्टै आलोचनाका स्वरहरु सुनिए । ओत लाग्ने त्रिपालको जोहो र एक बोरा चामल दिन नसक्ने सरकारले राहत, पुनस्र्थापना तथा पुुनर्निमाणका योजना बाँड्नु कुनै प्रकारले पनि भरोसायोग्य नरहेका कुराहरुको आधिक्य रह्यो । हुन त प्राकृतिक विपदमा समृद्ध राष्टहरुले पनि क्षति व्यहोर्छन् तर युद्धस्तरको प्रतिकार्य र योजनाबद्ध पूर्व तयारीका कारण जनमानसको विश्वास डगमगाउँदैन त्यहाँ । भयलाई भरोसामा बदलेको हुन्छ राज्य व्यवस्थाले । त्यही कारण होला जनता आलोचना भन्दा सरकारको काममा सहयोग र समर्थन गर्दछन् । हामीकहाँ सामान्य अवस्थामा पनि अविश्वास र भय छँदै थियो । त्रासदीले त्यसलाई झन मलजल ग¥यो । तदर्थवाद र भ्रष्टाचारको आडमा चलेको राज्यव्यवस्था र धुमिल राजनैतिक पृष्ठभूमिमा घटेको यस संकटका बेला कर्तव्यनिष्ठ नागरिकले पनि राज्यव्यवस्थाप्रति विश्वास जगाएको देखिएन र भरोसायोग्य कारण देखिएनन् पनि । जनता आक्रान्त भएका बेला सभासद स्वयम्ले एकएक गरी त्रिपाल बुझ्दै गरेको दृष्यहरुले केवल अविश्वास र आक्रोशलाई मात्र बढायो । त्यसै कारणले होला सभासदको पनि परिवार छ, ऊ पनि खुलास्थानमा सुत्न बाध्य छ, उसलाई पनि अरुजस्तै डर लाग्छ, ऊ पनि राज्यव्यवस्थाको सक्रिय अंग हो, उसको सुरक्षा पनि जरुरी हुन्छ जस्ता आदि विषयतर्फ बहस हुनै सकेन । मिडिया समेत अचाक्ली विरोधमा उर्लिएपछि उक्त कार्य तत्काल बन्द गर्नुप¥यो वितरक निकायले । विपदका सन्दर्भमा आएका शीर्षस्थ नेताहरुका विविध विचारहरुलाई लिएर व्यापक टिकाटिप्पणीहरु भए । राष्टिय सरकारको गठन, शक्तिसम्पन्न प्राधिकरण, नीतिनिर्माण, अनुगमन तथा सहयोग परिचालनजस्ता विषयमा सामाजिक सञ्जालमा अनेक आक्रोशयुक्त अभिव्यक्तिहरु देखिए । समग्रमा ती सबैको लवज सकारात्मक देखिएन ।
सिर्जनात्मक कार्य तथा इतिहास अभिलेखनको साधन
नेपालको इतिहासमा असामान्य घटनाको रुपमा आएको यो प्रकोपको बेला मानिसहरु असामान्य प्रकृतिको फुर्सदमा देखिए । काम तथा बन्द व्यापारका थलोहरु असुरक्षित महसुस भएपछि मानिसहरुले विभिन्न तरिकाले आफुलाई भुलाए । तीमध्ये सामाजिक सञ्जालमाथिको उच्च संलग्नता प्रमुख रुपमा देखियो । कवि तथा साहित्यकारहरुले देश तथा परदेशबाट गहन पीडाका आवाजहरु लेखे, र कालरात्रिपछि सुनौलो विहानीको अवश्यम्भाविताका कुरा लेखेर आशाको सञ्चार गराउने प्रयत्न गरे । कतिपयले भयभित मनलाई सान्त्वना दिलाउने लेख रचना लेखे, हाँस्यव्यंगको चेतधारीे प्रतिभाहरुले भय र रोदनका बीच पनि हँसाउने खालका प्रस्तुतिहरु पस्के । संस्मरण र अनुभूतिहरुका त असंख्य नमूनाहरु देखिए । चुटकिला, कार्टून, ग्राफिक्स, चित्र एवम् तस्वीरहरुमार्फत मानिसहरुले मनको भय विरेचन गरे । धरती काँपीरहँदा पनि मानिसहरुले आफना मोबाइलमार्फत तस्विर तथा भिडियो खिचेर नागरिक पत्रकार बने । फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जालहरु त्यसका लागि सहयोगी बने । यी सञ्जालहरुमा प्रेषित सामग्री भावी पुस्ताका लागि अब्बल सन्दर्भ सामग्री बनेर दाखिल भए र ती इतिहासकारहरुका लागि पनि सम्पत्ति बने । नब्बे सालको भूकम्पका कथा जान्न इतिहासका फाट्टफुट्ट वर्णन पढ्नुपर्ने वा जीवित वृद्धवृद्धाको खोजी गर्नुपर्ने अवस्थासँग तुलना गर्ने हो भने बहत्तरसालको भूकम्पको इतिहास हरेक नेपालीले विविध शैलीमा अभिलेखन गरे ।
विस्थापितको पुनर्वासको सन्दर्भ र असहिष्णु बहसको थलो
भुकम्पको असरले सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरुका कैयौँ बस्तीहरु पहिरोका कारण स्थायीरुपमा विस्थापित हुने अवस्था आयो । ती बस्तीहरुको सुरक्षित पुनर्वासको बहस भैरहेको बेला सदभावना आनन्दीदेवीकी नेतृ सरिता गिरीले गरेको ट्वीटर टिप्पणी सामाजिक सञ्जालमा भाइरल बन्यो । सो ट्वीटमा गिरीले भुँइचालोलाई आधार बनाई प्रभावित जनतालाई तराइमा बसोबास गराउने महेन्द्रवादी नीतिको निरन्तरताका लागि कार्य भइरहेको महसुस हुन्छ भनेकी थिइन् । पछि उनले सो कुरा आफूलाई स्वीकार नहुने अभिव्यक्ति पनि लेखमार्फत व्यक्त गरेकी थिइन् । यस अभिव्यक्तिका कारण विपत्तिले भत्किएका मन र ती मनहरुप्रति सदासयता राख्ने धेरैको मन दुखायो । परिणामस्वरुप उक्त अभिव्यक्तिका विरुद्ध सामाजिक सञ्जाल र अनलाइन पोर्टलमा सामाजिक, कानुनी तर्कहरु मात्रै पेश भएनन्, बरु उनका विरुद्ध हदैसम्मका गालीगलौच समेत पोखिए । त्यसो त लोकतान्त्रिक समाजमा विचारको अभिव्यक्ति सबैलाई रहन्छ । यद्यपि सम्प्रदाय वा लक्षित वर्गप्रति गरिएका त्यस्ता विचारको प्रस्तुति, सान्दर्भिकता र प्रसंगको हेक्का नराख्दा ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । ह्तििक रोशन काण्डले काठमाण्डौँ आक्रोश उर्लिएको कथा धेरैे पुरानो भएको छैन । गिरीको अभिव्यक्तिविरुद्धका टिप्पणी र आक्रोशका प्रवृत्ति हेर्दा सामाजिक सहिष्णुता खल्बलिने पो हो कि भन्ने डर देखियो । त्यसमा पनि गिरीको अभिव्यक्तिप्रति एकतर्फी आक्रोश मात्र बढी देखियो । तराइबासीले दुखेको पहाडलाई लाउँदै गरेको गुनमा यस अभिव्यक्तिले एकखाले अमिलोपन ल्यायो । झन् स्वतन्त्र मधेशको पक्षमा उग्र विचार बोकिहिँड्ने सी. के. राउतको नाममा आएको अर्को ट्वीटले नेपाली मनहरुलाई थप झस्कायो । पहाडियाहरुलाई मधेशमा बस्ती बसाइए गृहयुद्ध हुने अभिव्यक्तिले सबैलाई गम्भीर बनायो । राज्य संयन्त्र, नागरिक समाज तथा राजनैतिक दलहरु सबैको ध्यान पीडितको उद्धार तथा राहतकार्यमा केन्द्रित हुँदा आएको गिरीको विचारले नेपाली राजनीतिमा एउटा ठूलो पराकम्पन ल्यायो । व्यापक आलोचना भएपछि गिरीले एउटा लेखमार्फत आफ्नो अभिव्यक्तिप्रति कुनै पछुतो नभएको कुरा जनाइन् । वर्तमान सन्दर्भमा आम डिस्कोर्समा कमै आए पनि उक्त अभिव्यक्तिको प्रसंग र विश्लेषण आगामी राजनैतिक वृत्तमा कुनै दिन पुनः आउने सम्भावना देखिन्छ । भाइरल अभिव्यक्ति सामाजिक सञ्जालमा अभिलेखित जो छ ।
मनोविकार उत्सर्जनको साधन
समाजमा विभिन्न खालका मानिसहरु हुन्छन् । कोही आगो निभाउन सहयोग गर्छन् त कोही आगोकै कथालाई बढाइ चढाइ गरी र ती झिल्काहरुसँगै खेली आत्मसन्तुष्टि लिने प्रवृत्तिका हुन्छन् । यस त्रासदीका बेला सामाजिक सञ्जालमा पनि यस्ता प्रवृत्तिका प्रयोगकर्ताहरु देखिए । अन्यत्रैका विनाशका भिडियोहरु नेपालको भनेर पोस्ट गर्ने, पुराना भिडियोहरु नयाँ मितिको बनाई पोस्ट गर्ने, कहालीलाग्दा वा दारुण दृश्यहरु राखेर झन मानसिक आघात पु¥याउने र विभिन्नखाले वेभसाइटको हवाला दिई डरलाग्दा समाचारहरु प्रेषित गर्नेजस्ता क्रियाकलाप पनि यस विपद्का बेला सामाजिक सञ्जालमा देखिए । कतिपय यस्ता सामग्रीहरु निरुद्देश्य आएको प्रतीत हुन्थ्यो भने कतिपय भ्रामक पोस्टिंगहरुका पछाडि विकृत मनोविज्ञान वा कुत्सित मनसाय रहेको हुनसक्ने अनुमान लगाउन सकिन्थ्यो । विशेषगरी बजार तथा व्यवसायसँग सम्बन्धित पोस्टहरु त्यस्ता अनुमानका विषय थिए ।
अनुभूति साँटासाँट र हिलिङको माध्यम
सामाजिक सञ्जालले प्रयोगकर्ताहरुमाझ आफ्ना अनुभूतिहरु साटासाट गर्ने अद्वितीय अवसर प्रदान ग¥यो । आफना प्रियजन, साथीभाइ तथा परिवारका खबरहरु आफन्तहरुमाझ प¥रयाउने अनुपम माध्यम बन्यो सामाजिक सञ्जाल । त्यतिमात्र हैन, फेसबुकले त सुरक्षित रहेको खबर फैलाउन अतिरिक्त फिचर नै थपिदियो । भुकम्पपीडितकै सन्दर्भमा भाइबर र स्काइपले ल्याण्डलाइन तथा मोबाइल फोनहरुमा निशुल्क फोन गर्न सकिने सुविधा दिए । विपदका केही दिन निशुल्क सेवा प्रदान गरेवापत नेपाल टेलिकमले पनि सामाजिक सञ्जालमा राम्रै स्याबासी र धन्यवाद पायो । धेरैले यसको “राष्ट्रको सञ्चारू भन्ने नाराको मुक्त कण्ठले सम्झना गरे । अर्को सेवा प्रदायक एनसेलले पनि आफ्ना सेवाहरुमार्फत राम्रो पीआर बनायो । यसरी सामाजिक सञ्जाल सूचनाको माध्यममात्रै बनेन, बरु पर्न गएको वा पर्नसक्ने आघातसमेतलाई निको पार्न सहयोगी सावित भयो ।
सामूहिक विवेकको अभिव्यक्ति
वैशाख महिना उसै पनि बिहेको महिना हो । धेरै युवा युवतीले विवाहमार्फत जीवनको सम्बन्ध जोड्ने तरखर गरेका हुँदा हुन् यो समय । त्यसका अतिरिक्त मानिसहरुले नयाँ वर्षका शुभकामना लिएदिएका दुई हप्ता पनि वित्न पाएका थिएनन् । शायद मानिसहरुसँग नव वर्षको आगमनमा गरेका केही साट्नयोग्य अनुभवहरुका तस्विर तथा दृष्यसामग्रीहरु पनि थिए । अघिल्ला वर्षका यस्तै अवसरहरुमा ती अनुभव बाँडिएको देखिन्थ्यो । तर कारण जेभए पनि यसपालि मानिसहरुले जन्मदिन, विवाह, व्रतबन्ध, घुमघाम, विवाह वार्षिकी, मनोविनोदका लागि नयाँ तस्वीर आदि वैयक्तिक घटना ज्यादै न्यूनरुपमा सामाजिक सञ्जालको विषय बनाए । परिवारको घेराबाट माथि उठेर समाजको दुखसुख र दैनिकीसँग सामेल हुने हाम्रो सनातन परम्परा नै हो । त्यसै परम्पराको निरन्तरता हुनुपर्दछ, कतिपय प्रयोगकर्ताले त अर्काको विहेमा बजेको बाँजा र तडकभडकसमेतको आलोचना गरे । कसै कसैले यस्ता अवसरहरुमा हुने खर्च भूकम्प पीडितहरुको लागि दिएको कुरा लेखे । अघिपछि निकै अराजक भएको र असंवेदनशील भनेर आरोपित सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यस विपत्तिका बेला आफ्ना सुखद अभिव्यक्ति झल्काउने वैयक्तिक घटनाहरु ज्यादै न्यूनरुपमा सार्वजनिक गरे । छुटपुुटरुपमा विज्ञताको प्रदर्शन, मनोविनोद र आफ्नो विशिष्टताको छनक दिने खालका प्रस्तुतिहरु बाहेक देश दुखेको बेला सामाजिक सञ्जाल प्रयोगकर्ताहरुका पोस्टिङले कलेक्टिभ कन्साइन्सको प्रयोग भएको देखियो । यस अर्थमा यो विषय हाम्रो तन्नेरी “स्मार्टू पुस्ताको संवेदनशीलताको सुुझबुुझपूर्ण अभिव्यक्ति पनि रह्यो र सुखद पनि ।
भाषिक बहसको प्लाटफर्म
भूकम्पको यस सन्दर्भमा एउटा सानै आयामको तर जोडदार भाषिक बहसको तरंग समेत देखियो सामाजिक सञ्जालमा । उक्त बहस भुकम्पपछि आउने धक्काहरुलाई कुन शब्दले चिनाउने भन्नेबारे बढी देखियो । आमरुपमा प्रयोगमा आइसकेको पराकम्पन शब्द व्याकरणीय र भाषिक हिसाबले अशुद्ध भएको र शब्दकोशमा समेत नरहेको जिकिर एकथरिको देखियो भने अर्कोथरिले पनि संस्कृत, हिन्दीका ठूला ठुला कोषहरुको सन्दर्भ निकाली र शब्द निर्माणका सामाजिक, भाषिक आयामहरुको रौँचिरी विश्लेषण ग¥यो र पराकम्पन शब्द नै उचित छनोट रहेको दावी ग¥यो । उप्रान्त शब्दकोशकारहरुले सो शब्दको हेक्का राख्नुपर्ने जिकिर समेत यस बहसमा देखिए ।
अन्तमा,
सामान्य अवस्थामा विचार तथा अभिव्यक्तिको स्वतन्त्रता बन्ने बिषयहरु पनि असामान्य अवस्थामा स्वच्छन्द अर्थमा बुँझिदा रहेछन् । नेतृ गिरीको विचार र त्यसले उब्जाएका आक्रोशपूर्ण अभिव्यक्तिहरु हेर्दा यस्तै लाग्छ । यस्तो बेला सामाजिक सहिष्णुता र विपदमाथि झन विपद थप्नसक्ने अवस्था सिर्जना नहोस् भन्नका लागि राज्य चनाखो बन्नुपर्दछ । अनुगमन संयन्त्र चुस्त पार्नु आवश्यक छ । सामाजिक सञ्जालको प्रयोग, असर, संहिता र कानुनबारे जनचेतना फैलाउनु ज्यादै महत्वपूर्ण देखिन्छ । अन्यथा कुनै पनि खालको आपत विपद्मा यही जालो भयानक सावित नहोला भन्न सकिन्न ।