Thursday, November 5, 2015

असार पन्ध्रको घटना र मिडिया


यसपालिको असार पन्ध्र यसको साँस्कृतिक महत्वका लागि भन्दा पनि राजनैतिक तथा अन्य कारण बढी चर्चामा रह्यो । सामान्यतया दही च्युराको प्रसंग र विदेशी पर्यटकहरुले रोपाँइको हिलो छ्यापाछ्र्याप गरेका समाचारहरुमा सीमित हुने धान दिवस यस पालि भने मौसम, राजनीति, कृषि मन्त्री हरि पराजुली, महिला र मिडिया गरी पाँच विषयका कारण विशेष चर्चामा रह्यो ।
मौसमको प्रसंग असार पन्ध्र आइपुग्दा पनि समयमा पानी नपर्दा किसानले रोपाइँको सुरसार गर्न नपाएको विषयसँग सम्बन्धित रह्योे । माना रोपेर मुरी फलाउने सपनासँग जोडिएको विषय थियो त्यो र स्वाभाविक चिन्ता पनि ।


अर्को चर्चाको विषय संविधान लेखनको थियो । संविधान नेपाली राजनीतिका पछिल्ला ८ वर्षदेखिको एकोहोरो रटानको विषय थियो । यसपालि असार पन्ध्रका दिन मस्यौदा समितिले संविधानको मस्यौदा संसदसमक्ष पेश गर्ने कुराले नेपाली जनमानसमा एकखाले आशाको सञ्चार भएको अवस्था थियो । संविधानसम्बन्धी राजनैतिक बहस यो विन्दुमा आइपुग्दा महिला जोडिएको एउटा अर्को रोचक घटना घट्यो मुलुकमा र सो घटना प्रदर्शन र परिणति दुवै हिसाबले उल्लेख्य बन्न पुग्यो । र त्यसो हुनुको प्रमुख कारण घटनामाथि मिडियाको अतिशयोक्तिपूर्ण प्रस्तुति देखियोे । प्रस्तुत लेख यही घटनाको मिडिया डिस्कोर्समाथि केन्द्रित छ ।

सकारात्मक पहल, अशोभनीय व्यवहार
मुलपानीस्थित स्थानीयहरुसँग रोपाइँ कार्यक्रममा सहभागी हुन गएका कृषि मन्त्री हरि पराजुलीको असार पन्ध्रको घटना हो । मुलुकको कृषि क्षेत्र हेर्ने जिम्मेवार निकायको नेतृत्वकर्ता आम किसानसँग पुगेर आफ्ना योजना र सद्भावना बाँड्नु सकारात्मक कुरा थियो । तथापि विधि निर्माता विधायकले रौसिएर महिलाहरुलाई अँगालो हाल्नु र उनीहरुसँग लहसिएको भान पर्ने गरी व्यवहार गर्नु अशोभनीय घटना थियो । त्यसैले राम्रो कामका लागि स्थानीयसँग पुग्दा पनि मन्त्री पराजुलीका रसिक अभिव्यक्तिहरुलाई सामाजिक मर्यादाका कसीमा हेरियोे । स्वाभाविक तर्कहरु उठाइए– उनी आम व्यक्ति थिएनन्, जिम्मेवार मन्त्री थिए । राज्यव्यवस्थाका एक अंग थिए र उनले आफ्नो पदीय भूमिका, मर्यादा र अनुशासन कायम राख्नुपथ्र्यो । समाज तथा व्यवस्था परिवर्तनको लागि नेतृत्व लिने मान्छेलाई आफ्नो विवेक गुमाउने छूट हुँदैन । ऊ संवेगहरुसँगै बहकिनु हुँदैन । यदि त्यसो भइहाल्यो भने पनि सार्वजनिकरुपमै माफी माग्नुपर्दछ, आदि इत्यादि । घटनापश्चात् गाली, व्यंग, सुझाव, कारवाहीको माग, आलोचनाले अनलाइन तथा सामाजिक सञ्जाल अचाक्ली रंगियो । केही टिभीहरुले यसलाई अतिरिक्त रंग थपिदिए । विषय वस्तु पराजुलीको पार्टी हुँदै संसदमा पनि पुग्यो । उनका पार्टी अध्यक्षले स्पष्टीकरण लिएको समाचार आयो । चारैतिरबाट दवाब परेपछि अन्ततः उनले पदबाट राजिनामा दिए । यसरी आकस्मिकताका बीच सानो चूकका कारण हुन गएका व्यवहार मन्त्री पराजुलीका हरेक भावी असार पन्ध्रका लागि तीतो सम्झनाका तीर बनेर गए ।

उदेकलाग्दो समाचार सम्प्रेषण
पत्रकारितामा खराब समाचार असल समाचार हुन्छ भनेजस्तो उक्त घटनाको प्रस्तुतिमा पनि सकारात्मक कोण ज्यादै न्यून र नकारात्मक अभिव्यक्ति ज्यादा रहेकोे देखिन्छ । मन्त्रीको अश्लील हर्कत भनेर आएका प्रायः सबै समाचारहरुमा ती दुव्र्यव्यवहारमा परेका पक्ष वा पीडक भनिएका मन्त्री स्वयम्कै पनि भनाइ समेटिएको पाँइदैन । समाचारमा समाचारदाताका अनुभूति र आग्रह बढी मिसिएको देखियो । पत्रकारका अनुभूतिहरु सही नै भए पनि तिनलाई घटनामा संलग्न पात्रहरुबाट पुष्ट्याँइ गरिनुपर्ने मान्यता राखिन्छ पत्रकारितामा । झन् सामाजिक अपराध वा दुव्र्यवहार भनिने घटनाहरुको सम्बन्धमा सो कुरा बढी आवश्यक हुन्छ । हुन पनि त्यस्ता घटनाहरुको सम्बन्धमा ऐन मौकामा गरिएका बयानहरु प्रायः सत्यका ज्यादै नजिक मानिन्छन् । समय घर्केपछि विभिन्न आग्रह–पुर्वाग्रहहरु राख्नथाल्छन् मान्छेहरुले र घटनामा नयाँ नयाँ आयामहरु थपिएर सामान्य घटना पनि असामान्य बन्न जान्छन् । प्रस्तुत घटनाका समाचारहरुमा पनि परेको चोट वा दुव्र्यवहारका बारेमा पुुष्टि हुने कोटहरु कसैबाट पनि लिइएको देखिँदैन । यदि घटनाका बारेमा तत्क्षण विरोध गर्नेहरु थिए भने तिनले के भने ?मन्त्रीका हर्कतहरुबाट सिर्जित असहजता भोग्नेहरुका अभिव्यक्तिहरु के थिए र तिनका विरुद्ध मन्त्रीको प्रतिक्रिया के थियो ? त्यसैगरी यदि निजका गतिविधिविरुद्ध प्रतिकूल प्रतिक्रिया थिएनन् भने मिडियाले कुन आधारमा तिललाई पहाड बनायो? यी कुराहरु अनुत्तरित नै छन् । समाचारहरुमा बरु समाचारदाता स्वयम्ले अनुमान, बुझाइ र अनुभूतिका आधारमा लाज तथा आक्रोश देखिएको कुरा लेखे वा बोले । नियालेर हेर्दा समाचारदाता यस घटनामा पीडित र पीडकका बीचमा तेस्रो पक्ष हो । सम्पूर्ण घटनाको निक्र्यौल गर्ने प्रक्रियामा ऊ क्रिकेटको थर्ड अम्पाएर पनि होइन र थर्ड पार्टी इन्स्योरेन्सको प्रतिनिधि पनि होइन । देखे बुझेका घटनाहरुलाई संलग्न व्यक्तिहरुका प्रत्यक्ष भनाइहरुबाट पुष्ट्याँइ नगरुन्जेल तेस्रो पक्षका अनुमान र अनुभूतिहरुलाई मात्र अथ्र्याइएजस्तो समाचारका रुपमा ग्रहण गर्नु गराउनु पत्रकारिताको मर्म विपरीत हुन्छ । प्रस्तुत घटनामा त्यस्तै भयो ।

संकीर्ण हेराइ
यसो भन्दा के त्यसोभए घटनासम्बन्धी सबै अवयवहरु समेटिएका दृष्यहरु यथेष्ठ प्रमाण होइनन् ? भन्ने तर्क पनि उठाउन सकिन्छ । दृष्यका ती व्यवहारहरुको पनि गहन विश्लेषण हुनु जरुरी छ । त्यसो त देखिने सबै कुरा सत्य हुँदैनन् र सत्य सबै देखिँदैन पनि भनिन्छ । प्रस्तुत घटनामा पनि केही उधिन्न बाँकी पत्रहरु देखिन्छन् । कृत्यका ती दृष्यहरुलाई मनसायतत्वसँगको अन्तरसम्बन्धका आधारमा पनि केलाइनु जरुरी छ । मुलपानी पुग्नुअघि तीनवटा महत्वपूर्ण औपचारिक कार्यक्रममा सहभागी भई अबेर पुगेका मन्त्रीको उक्त व्यवहारमा असामान्य मनसाय रहेको प्रमाण देखिँदैन । उल्लास र रौनकताले भरिपूर्ण वातावरणमा सामान्य जिस्काइहरुको सिलसिला बढेपछि सिर्जना हुनगएको आकस्मिकता देखिन्छ उक्त घटना । जुन अशोभनीय भने थियो नै । यस्ता घटनाहरु हामीले हाम्रा चाडपर्वहरु होली, बिसु, रोदी, वा अन्य विजयोत्सव तथा साहसिक कार्यहरुमा देख्दै, भोग्दै  र गर्दै आएका हौँ । निर्वाचनमा विजयी महिला उम्मेद्वारलाई समर्थक पुरुष साथीहरुले समातेर माथि उचालेका दृष्य वा अन्यथा अवस्थामा अर्थ खोज्न मिल्ने गरी अबीर दल्ने वा सिस्नु हान्ने गरेका घटनाहरु समाजले पचाएकै विषय हुन् । यसो भन्दा महिला अस्मिताको विषय यस्तै थियो र रहिरहोस् भन्ने अर्थ किमार्थ पनि होइन । बरु कुरा परिस्थितिजन्य मनोविज्ञानको हो । उल्लासका यस्ता अवसरहरुमा मान्छे निकै उत्साहित हुनपुग्छ र ऊ विवेकभन्दा संवेगले निर्देशित हुने गर्छ । यसो भनिरहदाँ मन्त्रीले गल्ती गरेनन् भन्ने निष्कर्ष निकाल्न खोजिएको पनि होइन । परिस्थितिलगायतका यी कुराहरुको हेक्का नराखी आएका मिडिया प्रस्तुतिहरु अपरिपक्व र अतिशयोक्तिपूर्ण समाचार भए भन्ने हो । पीडित भनिएका महिलाहरुले घटना दुराशयपूर्ण नरहेको र गलत प्रचार गरिएको भनी बारम्बार दिएका अभिव्यक्तिहरु त्यसैका प्रमाण हुन् । यसरी हेर्दा पक्षहरुको आवाज नसुनी नसमेटी गरिएको यो उदेकलाग्दो मिडिया ट्रायल हुन गयो । खबरदारीका नाममा खेदो खनेर तह लगाउने प्रवृत्तिलाई समेत मलजल पुग्ने नजीर खडा गर्यो यस घटनाले ।

मिडिया चुकेको अर्को पाटो
सामान्यतया यौनजन्य विषय समाजका लागि चासोका विषय हुने गर्दछन् । त्यसमा पनि उच्च पदस्थ वा चिनिएका व्यक्तित्वहरु जोडिँदा प्रसँग झन आयामिक बन्ने गर्दछ । मिडियाका लागि उक्त घटना यस्तै भयो । घटनालाई पद, चरित्र र सामाजिक मर्यादाको विषय बनाउँदै समाचार पस्किने होडमा मिडियाले आफ्नै संहिता बिर्सिएको देखियो । दुव्र्यवहारमा परेकी भनिएकी महिलाको सग्लो सपाट क्लोज अप तस्वीर सबै मिडियातिर देखियो । तिनका अनुहारहरु आम दर्शक पाठकको दिमागमा ज्यूँका त्यूँ कैद हुने गरी प्रस्तुत गरियो । दर्शक पाठकलाई त त्यस्ता प्रसंगहरु उठ्ने बित्तिकै पीडक तथा पीडितका रुप, रंग, उमेर, पेशा, व्यक्तित्व आदि जान्ने उत्सुकता रहन्छ नै । तर पक्षहरुको सहमतिबेगर मिडियालाई यी सबै कुरा उजागर गर्ने छूट हुँदैन । संवेदनशील मानिने समाचारमा पीडितका अनुहार देखाएर समाचारको महत्व बढ्ने पनि होइन । त्यस्ता घटनाहरुमा व्यक्ति होइन प्रवृत्ति तथा घटना प्रधान हुनुपर्ने हो । र त्यस्ता घटनामा पीडित पात्रहरुको चित्रण संकेतात्मक राखी प्रवृत्तिमाथि बहस छेड्नु पत्रकारिताको धर्म हो । न ग्ल्यामरको अभिव्यक्ति बुझिने, न कुनै मनसायपूर्ण नियोजित योजनाको पटाक्षेप नै भएको उक्त घटनामा महिलाहरुलाई पहिचानसहित पीडितको रुपमा चित्रित गरियो । घटना प्रकाशमा ल्याउने नाममा मिडियाले आफ्नो काम त गर्यो तर ’पीडित’ महिलाको अनुहार संसारभर जस्ताको तस्तै फैलायो पनि । यस अर्थमा महिलाको तात्कालिक र सामान्य पीडालाई मिडियाले दीर्घ र असामान्य बनाइदियोे ।

अन्तमा,
पीडितका अनुहार देखाइदिएर मिडियाले कुन उद्देश्य पूरा गर्यो ?मिडियामा जताततै आफ्ना तस्वीरहरुका साथ नानाथरि टिकाटिप्पणी भइरहँदा निज महिलाहरुको मनोदशा कस्तो भयो होला ? ती सामग्रीको असंवेदनशील प्रस्तुतिले अन्य कति महिलाहरुको मन दुख्यो होला? यी प्रश्नको हेक्का नेपाली मिडियाले राखेको पाइएन । यसर्थ यी समीक्षाका विषय पनि हुन् । प्रस्तुत घटनाका सम्बन्धमा मिडियाले न पीडितमूखी दृष्टिकोण राखेको पाइयो, न समाचारलाई सामान्य अर्थमा सम्प्रेषण गर्यो । आफ्नो न्यूनतम धर्म बिर्सेर मिडियाले बरु एकोहोरो अनुशासनको पाठ पढाइरह्यो, जुन निकै दुखद पक्ष हो ।
                                                                     2015 Asar 15, published in Gorkhapatra National Daily

No comments: