Saturday, December 27, 2014

सपना र विपना

मृगतृष्णाकै सही

टिपेर फूलहरु आनन्दका

माला गाँस्न चाहन्छु म
निजात्मक औ अमूर्तै सही
सिलसिला रचाउन चाहन्छु म
जिएर सपना सुन्दर ती
भरजीवन तिनै साँच्न चाहन्छु म ।

किनकि
मज्जा बेग्लै हुन्छ कल्पिएर जिउनुको
इन्द्रेणी सपनाको
खातैखातमा पुरिएर
उता
पीडा बेग्लै हुन्छ झस्किएर ब्युँझनुको
धारिला विपनाको
खुकुरीले सेरिएर ।।

कत्ति प्यारो छ अहा
सपनाको संसार
बन्दै हुन्छन् नयन किन्तु
सृष्टि उल्कै उज्यालो
कत्ति फुस्रो छ यता
विपनाको जंजाल
खुल्लै हुन्छन् नयन किन्तु
सृष्टि निष्पट्टै कालो ।।

हल्लाउँदाछन् विपना मेरा
सपनाका जरा जरा अचेल
जिस्क्याउँछन पनि ती हरपल मलाई
सजिन खोज्दा हरेक सपना मेरा
मनमौजी महल बनाई
उद्धत छन् डढाउन विपना
झ्वास्स झोसेर सलाई ।।

No comments: