Saturday, December 27, 2014

यूगीन धङ्धङी

नियतिको अनुमोदन
सहज र स्वीकार्य हुन्न कतिलाई
बलेलाई पनि भएन
तसर्थ आफ्नै बाटो रोज्ने सुरमा
घुट्क्याएथ्यो उसले एक शिशी
विषादि पोहोर साल
तर
प्रयत्न दुस्साहस भएपछि
ऊ बाँचेको त छ एक जिन्दगी
लाचार निरुपाय निराश
डिटक्सिकेसनपछि पनि
यूगीन धङ्धङीसहित
कारण उसको आकाश
उसको धर्ती
उसको जून
उसका तारा अनि
नियतिका साक्षी सारा
एकमुष्ट उसकै
घाउ गिजोलिरहन्छन् गिज्याइरहन्छन् ।

यता म बबुरो
शरणागत छु नियतिकै किन्तु
स्वीकार छन् हर चोटहरु परन्तु
बाँचेको छु एक थान जिन्दगी
अंश अंशमा
जलमा ढल
खाध्दयमा अखाध्य
अमृतमा विष मिसिँदाको परिणति
टक्सिकेटेड दशाको
धङ्धङीसहित ।

बले
यतिखेर गम्दैछु म
सुख छैन कसै गरी
न तिम्रो यात्रा टुंग्याउनीको
स्वच्छन्द रोजाइ
न मेरो जिजीविषाको पुर्णाङ्गी भोगाइ
अछुतो छैन
तिम्रो नियतिको उपहास गर्ने
ती जून तारा अनि धर्ती आकाशका
वक्रदृष्टिबाट
किनकि
हिजो पनि ती गिज्याउँथे पीडितलाई नै
आज झन् निर्लज्ज मौनता साँध्दाछन्
फरक यत्ति छ
तिमीले हरेस खाँदा हिजो
तिनले सुगन्धी उपहास गर्थे
मैले 'हरेक' खाँदा आज
ती पनि दुर्गन्धित सास लिँदाछन्
मौनता साँधेर अाफ्नै मसान कुर्दाछन् ।।

No comments: