Thursday, August 9, 2012
मेरो दृष्टिमा पाताल
किशोर नेपाल कृत पाताल पढेपछि छोटकरीमा यस्तो भन्न मन लाग्यो मलाई ।
१ जैविक आवश्यकताको कसीमा जोखिएको महिला मनोविज्ञानको शल्यक्रिया हो पाताल ।
२ पितृसत्तात्मक समाजको दृष्टिमा एक अतृप्त महिलाको मानसिक गुम्फनको निकास हो पाताल । पाप–पुण्य कर्तव्य र चाहना अनि यौन मनोवेग र कुण्ठारुपी राजमार्गको डाइभर्सन हो पाताल । किनकि पाताल जिकिर गर्छ–शरीर सत्य हो र मन पनि सत्य हो । मन वेश्याजस्तै भएर भौंतारिन थाल्यो भने शरीर कति पवित्र रहन सक्ला र ? मानवीय आकर्षलले सम्मोहित भएका बेला मर्यादाका सीमा साह्रै कमजोर बन्छन् ।
३ बिम्व, भाषिक चयन र दर्शनको अचार पनि हो पाताल जुन प्रत्येक गाँस निल्न नभ्याउँदै चाँटु चाँटु लागिरहन्छ । मैले चाटेको अचारका बान्कीहरु अध्यापि ताजै छन् मन मष्तिस्कमा – सम्झनामा मात्र बाँच्न त सकिँदैन । सम्झना पनि सपनाजस्तै हो । तैपनि मानिसलाई मस्त सुतेरमात्र पुग्दैन । बेलाबेला सपना देखिएन भने जीवन बिरानो लाग्न थाल्छ । आफैसगँ नियास्रो लाग्न थाल्छ । तसर्थ तपाई हाम्रा सपनाहरुको पनि लिखित अनुमोदन हो पाताल ।
४ निष्ठा र आस्थाको नाममा समाजले बोकाइदिएका कथित आदर्श चालचलनको भारी बोकेकी अतृप्त हरेक विमुख महिलाले शायद सोच्दिहुन् कि संसारका सबै पुरुषले पढून पाताल । तर पुरातनवादी र गुम्फनकै विवशतामा जिउने नारीमनको दृष्टिमा कूरुप सत्य र नग्नताको सार्वजनिकीकरण हो पाताल ।
५ प्राकृतरुपमा हुर्कने सबै वैंशालु मनहरुका लागि अतीतको चम्किलो सम्झना र घुसघुसे पात्रहरुको साझा कथा पनि हो पाताल ।
६ सरल तर भाषिक लालित्यका लागि र परिवर्तनका विभिन्न स्वरुपहरुबारे जान्न पढिनुपर्ने उपन्यास हो पाताल ।
७ प्रत्येक निष्ठा र चरित्रवान नारी समेतको एकान्तको फेन्टासी हो पाताल ।
८ केहि फितला प्रसंग र पुनुरोक्तिजस्ता लाग्ने कुराहरुबाहेक नारीको नियति र पुरुषको पौरखमा बाँच्न रमाउने समकालीन समाजको सफा एना पनि हो पाताल ।।
२०६८ जेठ २६ गते । काठमाडौं ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment