Thursday, August 2, 2012
नाथे जनै वा रक्षाडोरो भन्नेहरुलाई
''जीवनमा न 'रक्षा' छ, न 'सुरक्षा'। अनि के को रक्षा बन्धन ? म त स्वतन्त्र युवा । खुला संसारमा रमाउछु ।''
जनै पूर्णिमा र रक्षाबन्धनको दिन। फेसबुकको भित्तोमा एकजना युवा पत्रकारको यो स्टाटसले झस्कायो आज । संसार आफ्नो स्वतन्त्रताको नाममा कति स्वच्छन्द हुँदै गएछ भन्ने कुराले एकछिन मन घोत्लियो । नजान्नेले यस्ता टिका टिप्पणी गर्दा खासै असर पर्दैन तर बुझकी मान्छेले यिनै कुरा गर्दा केही भन्न करै लाग्दो रैछ ।
विश्वविख्यात फ्रेन्च दार्शनिक रुसोको उक्तिबाट शुरु गर्दछु । मानिस स्वतन्त्र जन्मन्छ तर जहाँतहीँ ऊ जन्जीरमा जकेडिएको हुन्छ । हो यी जन्जीरहरु केही धर्मका छन्ऽ केही दायित्वका छन् त कैयौं कर्तव्यका छन् । कति सामाजिक सुव्यवस्थाका लागि अनिवार्य छन् त कति एच्छिक । कति वैज्ञानिक दृष्टिमा पनि तर्कसँगत छन् त कति ठोस आधार नभएका तर विश्वास र जनश्रुतिमा आधारित हुँदै परम्पराका रुपमा स्थापित छन् । केही प्रीतिकर छन् त केही आलंकारिक महत्वका । तसर्थ कुनै पनि सामाजिक व्यवस्थाको आलोचना गर्दा त्यसका गुण दोष पनि हेर्नुपर्दछ र त्यसो गर्दा सोझो गणितीय सनकमा अभिव्यक्ति दिइनु बुद्दिमानी हुँदैन भन्ने हो । हामीलाई नौटंकी लाग्ने कतिपय परम्पराहरुलाई आज विज्ञानले पनि पुष्टि गरिदिएको छ । र शाब्दिक अर्थमै कुरा गर्ने हो भने जीवनको रक्षा र सुरक्षा त कहीँ पनि छैन । रक्षा र सुरक्षा भनेको केलाई बुझ्ने । तर्ककै लागि तर्क र शाब्दिक अर्थमै कुरा गर्ने हो भने त स्वतन्त्र युवक भएर आधुनिक प्रविधिको सहारा आफ्ना अभिव्यक्ति स्वच्छन्द ढंगले राख्न पाउनु रक्षा र सुरक्षा भएरै हैन र ?
अर्को कुरा समाज आफैमा मानव सभ्यताको निकै पुरानो संस्था हो र यो सञ्चालनका विधि विधान समय, परिवेश र भूगोल अनुसार छुट्टा छुट्टै छन् । मानव सभ्यताका न्यूनतम मान्यता र आधारहरु भने प्रत्येक समाजका मिल्दाजुल्दा छन् । रुपमा ती भिन्न देखिए पनि सारमा उस्तै छन् । द्राक्षफलम, अंगुर वा ग्रेइप जे भनिए पनि उही फल बुझाउने हो । जिसस, अल्लाह वा देवाधिदेव जे भने पनि अन्तिम सत्य र विश्वास उही अदृश्य शक्तिमा हो जसलाई हामी भगवान भनेर पुज्छौँ । संसारका कुनै पनि चाडपर्वहरु कुनै न कुनै रुपमा परम्परा र धर्मकै अभिव्यक्ति हुन् । नास्तिकहरुको कुनै परम्परा हुँदैन । न उनीहरुको कुनै निश्चित आस्था नै हुन्छ । सामाजिक परम्परामा सुधार भन्दा पनि उत्तेजना र उक्साहट प्रवाह गर्न ती तल्लीन रहन्छन् । आफ्नो निजत्वको हवाला दिएर बहुसँख्यक समाजलाई भड्काउने काम पनि बुद्दिमानीको काम होइन । झन् समाजमा सकारात्मक परिवर्तन गर्छु भनेर लागिपरेकाहरुलाई त यस्ता अपरिपक्व विचार अभिव्यक्त गर्न पटक्कै सुहाउँदैन ।
अब कुरो जनै वा रक्षाबन्धनको गरौं । यी दुवैलाई सतहीरुपमा रक्षा र सुरक्षाको शाब्दिक अर्थसँग मात्र गाँसेर हेर्नुहुँदैन । फेरि पनि कुरा मानव सभ्यताका विविध पाटाहरु जोडिनजान्छ । मानवीय जीवनका विभिन्न अनुष्ठानहरु हुन्छन् । र जीवन विभिन्नखाले संस्थाहरुसँग गाँसिएको वा बाँधिएको हुन्छ । निष्ठा, मर्यादा र आचरण शुद्धिका लागि बनाइएका यी केही पुरातन उपायहरु हुन् । स्वतन्त्रताको नाममा म कुनै अनुष्ठान मान्दिनँ र जीवनमा परम्पराका आफ्नै केही महत्वहरु हुन्छन् भन्ने कुरा नकारेरै हिँड्ने हो भने त त्यसमा कसैले टाउको दुखाइरहनुपर्ने कुरा भएन किनकि त्यो नितान्त वैयक्तिक कुरा भयो । स्वीकारयोग्य यथार्थ केचाँहि हो भने यी डोरीहरुको महत्व आजको युग सापेक्ष फेरिएको छ । आज यिनको महत्व र अर्थ केवल प्रतीकात्मक हुनगएको छ । तर धर्म र सदाचार अनि भातृ–भगिनीबीचको सम्बन्धको प्रतीकका रुपमा यी डोरीहरुलाई सदनियतपूर्ण तरिकाले ग्रहण गर्दा कुनै हानी भने छैन बरु केही आध्यात्मिक शान्तिको अनुभूति नै हुन्छ । यो कुरा पनि सत्य हो कि डोरी बाँधेर भ्रष्ट आचरण गर्नेलाई जनै वा रक्षा बन्धनले त के फलामे साङ्लोले पनि रक्षा गर्न सक्दैन । आध्यात्मिक विश्वास र चिन्तनले सदाचारतर्फ डोर्याउन मद्दत गर्छ र सदाचारले जीवनका विभिन्न आयामहरु उन्नत हुन्छन् । तिनै सदाचारका मार्गप्रशस्त गराउने औजारका रुपमा यी प्रतिपादन भएका हुन् । समय अचाक्लीरुपमा फेरिएको छ । ज्ञानको घेरा असीमित बन्न पुगेको छ। आज मान्छे हुनुको परिभाषा पनि कमोडिफिकेशनसँगै गाँसिएको छ । त्यसैले डोरी बाँध्ने सबै सदाचारी र नबाँध्ने सबै व्यभिचारी भन्ने निष्कर्ष अब सर्वथा गलत हुने अवस्था छ । त्यसैगरी रक्षाबन्धन बाँध्नेको रक्षा र नबाँध्नेको असुरक्षा हुन्छ कि भन्ने पनि कुनै विषय होइन । कुरा केवल आध्यात्मिक ग्रहणशीलताको हो । र कुरा चालु परम्पराबाट सही सन्देश लिएर यसलाई फरक ढंगमा अपनाउनुको हो । मानव सभ्यतामा ढुंगो देउताको रुपमा पुजिनु पनि यही विश्वासको कारण हो जसले जीवनलाई सत्मार्गमा डोर्याउन सहयोग पुग्छ । यसर्थ मूल कुरा ग्रहण गर्नेमा रहन्छ । जस्तो कि एउटा कवि कुनै हिमाललाई प्रेमिकाको रुपमा अर्थ्याउँछ, सादृश्य गराउँछ, त्यसैमा बग्छ र भावनाका सुन्दर अभिव्यक्तिहरु सिर्जना गर्छ भने आम मानिसले त्यो सौन्दर्यको भेउ विरलै पाउँछ । विश्वासमा आधारित आध्यात्म पनि यही कुरा हो । यहाँ वर्णित कविजस्तै विश्वासबाट अनुप्राणित भई नवशैलीमा आफुलाई एउटा अनुष्ठानमा बाँधेर आध्यात्मिक शान्ति वा मानसिक सन्तुष्टि लिने वा स्वतन्त्रताको नाममा सामाजिक परम्पराका तागत र सौन्दर्यलाई उपेक्षा गरीहिंड्ने ? छनौट फेरि पनि सर्वथा निजी हो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment