Thursday, August 9, 2012

मेरो दृष्टिमा पाताल

किशोर नेपाल कृत पाताल पढेपछि छोटकरीमा यस्तो भन्न मन लाग्यो मलाई । १ जैविक आवश्यकताको कसीमा जोखिएको महिला मनोविज्ञानको शल्यक्रिया हो पाताल । २ पितृसत्तात्मक समाजको दृष्टिमा एक अतृप्त महिलाको मानसिक गुम्फनको निकास हो पाताल । पाप–पुण्य कर्तव्य र चाहना अनि यौन मनोवेग र कुण्ठारुपी राजमार्गको डाइभर्सन हो पाताल । किनकि पाताल जिकिर गर्छ–शरीर सत्य हो र मन पनि सत्य हो । मन वेश्याजस्तै भएर भौंतारिन थाल्यो भने शरीर कति पवित्र रहन सक्ला र ? मानवीय आकर्षलले सम्मोहित भएका बेला मर्यादाका सीमा साह्रै कमजोर बन्छन् । ३ बिम्व, भाषिक चयन र दर्शनको अचार पनि हो पाताल जुन प्रत्येक गाँस निल्न नभ्याउँदै चाँटु चाँटु लागिरहन्छ । मैले चाटेको अचारका बान्कीहरु अध्यापि ताजै छन् मन मष्तिस्कमा – सम्झनामा मात्र बाँच्न त सकिँदैन । सम्झना पनि सपनाजस्तै हो । तैपनि मानिसलाई मस्त सुतेरमात्र पुग्दैन । बेलाबेला सपना देखिएन भने जीवन बिरानो लाग्न थाल्छ । आफैसगँ नियास्रो लाग्न थाल्छ । तसर्थ तपाई हाम्रा सपनाहरुको पनि लिखित अनुमोदन हो पाताल । ४ निष्ठा र आस्थाको नाममा समाजले बोकाइदिएका कथित आदर्श चालचलनको भारी बोकेकी अतृप्त हरेक विमुख महिलाले शायद सोच्दिहुन् कि संसारका सबै पुरुषले पढून पाताल । तर पुरातनवादी र गुम्फनकै विवशतामा जिउने नारीमनको दृष्टिमा कूरुप सत्य र नग्नताको सार्वजनिकीकरण हो पाताल । ५ प्राकृतरुपमा हुर्कने सबै वैंशालु मनहरुका लागि अतीतको चम्किलो सम्झना र घुसघुसे पात्रहरुको साझा कथा पनि हो पाताल । ६ सरल तर भाषिक लालित्यका लागि र परिवर्तनका विभिन्न स्वरुपहरुबारे जान्न पढिनुपर्ने उपन्यास हो पाताल । ७ प्रत्येक निष्ठा र चरित्रवान नारी समेतको एकान्तको फेन्टासी हो पाताल । ८ केहि फितला प्रसंग र पुनुरोक्तिजस्ता लाग्ने कुराहरुबाहेक नारीको नियति र पुरुषको पौरखमा बाँच्न रमाउने समकालीन समाजको सफा एना पनि हो पाताल ।। २०६८ जेठ २६ गते । काठमाडौं ।

Friday, August 3, 2012

हिसाब कसरी चुकाऊँ म ??

मानचित्रको पूर्वतिरै भएपनि उज्यालो हुँदैन मेरो बस्तीमा पहिले बत्तीमुनिको अँध्यारो जस्तै ध्वाँसो हट्दैन मेरो आकाशको कहिल्यै ।। वातावरणीय चक्र बिग्रेर हो कि कुनै पुस्तौनी विरासतको रोगी आँखा देख्दैनन् पनि फिटिक्क मेरो बस्तीका लट्ठक जोगी ।। न आकाश फाट्छ छङ्ङ आफै र लाग्छ उज्यालो घाम न सुध्रिन्छन् यी वानप्रस्थहरु र नै सप्रिन्छ काम तमाम ।। रिसमात्र उठ्छ अचेल यिनका चर्तिकला देखी दाग्न सक्दिनँ यिनका कञ्चट पनि न नै सक्छु झार्न यिनका शेखी ।। द्विविधामा छु अचेल म– दक्षिणको घर गरुँ कि उत्तरको भर परुँ म विलखबन्दमा छु अचेल म– हर एक बेरुजु पुस्तौं पुस्ताका कसरी फर्स्यौट गराऊँ म कर्तुत लट्ठकहरुका ती हिसाब कसरी चुकाऊँ म ? 2012-August03@UNDP

Thursday, August 2, 2012

नाथे जनै वा रक्षाडोरो भन्नेहरुलाई

''जीवनमा न 'रक्षा' छ, न 'सुरक्षा'। अनि के को रक्षा बन्धन ? म त स्वतन्त्र युवा । खुला संसारमा रमाउछु ।'' जनै पूर्णिमा र रक्षाबन्धनको दिन। फेसबुकको भित्तोमा एकजना युवा पत्रकारको यो स्टाटसले झस्कायो आज । संसार आफ्नो स्वतन्त्रताको नाममा कति स्वच्छन्द हुँदै गएछ भन्ने कुराले एकछिन मन घोत्लियो । नजान्नेले यस्ता टिका टिप्पणी गर्दा खासै असर पर्दैन तर बुझकी मान्छेले यिनै कुरा गर्दा केही भन्न करै लाग्दो रैछ । विश्वविख्यात फ्रेन्च दार्शनिक रुसोको उक्तिबाट शुरु गर्दछु । मानिस स्वतन्त्र जन्मन्छ तर जहाँतहीँ ऊ जन्जीरमा जकेडिएको हुन्छ । हो यी जन्जीरहरु केही धर्मका छन्ऽ केही दायित्वका छन् त कैयौं कर्तव्यका छन् । कति सामाजिक सुव्यवस्थाका लागि अनिवार्य छन् त कति एच्छिक । कति वैज्ञानिक दृष्टिमा पनि तर्कसँगत छन् त कति ठोस आधार नभएका तर विश्वास र जनश्रुतिमा आधारित हुँदै परम्पराका रुपमा स्थापित छन् । केही प्रीतिकर छन् त केही आलंकारिक महत्वका । तसर्थ कुनै पनि सामाजिक व्यवस्थाको आलोचना गर्दा त्यसका गुण दोष पनि हेर्नुपर्दछ र त्यसो गर्दा सोझो गणितीय सनकमा अभिव्यक्ति दिइनु बुद्दिमानी हुँदैन भन्ने हो । हामीलाई नौटंकी लाग्ने कतिपय परम्पराहरुलाई आज विज्ञानले पनि पुष्टि गरिदिएको छ । र शाब्दिक अर्थमै कुरा गर्ने हो भने जीवनको रक्षा र सुरक्षा त कहीँ पनि छैन । रक्षा र सुरक्षा भनेको केलाई बुझ्ने । तर्ककै लागि तर्क र शाब्दिक अर्थमै कुरा गर्ने हो भने त स्वतन्त्र युवक भएर आधुनिक प्रविधिको सहारा आफ्ना अभिव्यक्ति स्वच्छन्द ढंगले राख्न पाउनु रक्षा र सुरक्षा भएरै हैन र ? अर्को कुरा समाज आफैमा मानव सभ्यताको निकै पुरानो संस्था हो र यो सञ्चालनका विधि विधान समय, परिवेश र भूगोल अनुसार छुट्टा छुट्टै छन् । मानव सभ्यताका न्यूनतम मान्यता र आधारहरु भने प्रत्येक समाजका मिल्दाजुल्दा छन् । रुपमा ती भिन्न देखिए पनि सारमा उस्तै छन् । द्राक्षफलम, अंगुर वा ग्रेइप जे भनिए पनि उही फल बुझाउने हो । जिसस, अल्लाह वा देवाधिदेव जे भने पनि अन्तिम सत्य र विश्वास उही अदृश्य शक्तिमा हो जसलाई हामी भगवान भनेर पुज्छौँ । संसारका कुनै पनि चाडपर्वहरु कुनै न कुनै रुपमा परम्परा र धर्मकै अभिव्यक्ति हुन् । नास्तिकहरुको कुनै परम्परा हुँदैन । न उनीहरुको कुनै निश्चित आस्था नै हुन्छ । सामाजिक परम्परामा सुधार भन्दा पनि उत्तेजना र उक्साहट प्रवाह गर्न ती तल्लीन रहन्छन् । आफ्नो निजत्वको हवाला दिएर बहुसँख्यक समाजलाई भड्काउने काम पनि बुद्दिमानीको काम होइन । झन् समाजमा सकारात्मक परिवर्तन गर्छु भनेर लागिपरेकाहरुलाई त यस्ता अपरिपक्व विचार अभिव्यक्त गर्न पटक्कै सुहाउँदैन । अब कुरो जनै वा रक्षाबन्धनको गरौं । यी दुवैलाई सतहीरुपमा रक्षा र सुरक्षाको शाब्दिक अर्थसँग मात्र गाँसेर हेर्नुहुँदैन । फेरि पनि कुरा मानव सभ्यताका विविध पाटाहरु जोडिनजान्छ । मानवीय जीवनका विभिन्न अनुष्ठानहरु हुन्छन् । र जीवन विभिन्नखाले संस्थाहरुसँग गाँसिएको वा बाँधिएको हुन्छ । निष्ठा, मर्यादा र आचरण शुद्धिका लागि बनाइएका यी केही पुरातन उपायहरु हुन् । स्वतन्त्रताको नाममा म कुनै अनुष्ठान मान्दिनँ र जीवनमा परम्पराका आफ्नै केही महत्वहरु हुन्छन् भन्ने कुरा नकारेरै हिँड्ने हो भने त त्यसमा कसैले टाउको दुखाइरहनुपर्ने कुरा भएन किनकि त्यो नितान्त वैयक्तिक कुरा भयो । स्वीकारयोग्य यथार्थ केचाँहि हो भने यी डोरीहरुको महत्व आजको युग सापेक्ष फेरिएको छ । आज यिनको महत्व र अर्थ केवल प्रतीकात्मक हुनगएको छ । तर धर्म र सदाचार अनि भातृ–भगिनीबीचको सम्बन्धको प्रतीकका रुपमा यी डोरीहरुलाई सदनियतपूर्ण तरिकाले ग्रहण गर्दा कुनै हानी भने छैन बरु केही आध्यात्मिक शान्तिको अनुभूति नै हुन्छ । यो कुरा पनि सत्य हो कि डोरी बाँधेर भ्रष्ट आचरण गर्नेलाई जनै वा रक्षा बन्धनले त के फलामे साङ्लोले पनि रक्षा गर्न सक्दैन । आध्यात्मिक विश्वास र चिन्तनले सदाचारतर्फ डोर्याउन मद्दत गर्छ र सदाचारले जीवनका विभिन्न आयामहरु उन्नत हुन्छन् । तिनै सदाचारका मार्गप्रशस्त गराउने औजारका रुपमा यी प्रतिपादन भएका हुन् । समय अचाक्लीरुपमा फेरिएको छ । ज्ञानको घेरा असीमित बन्न पुगेको छ। आज मान्छे हुनुको परिभाषा पनि कमोडिफिकेशनसँगै गाँसिएको छ । त्यसैले डोरी बाँध्ने सबै सदाचारी र नबाँध्ने सबै व्यभिचारी भन्ने निष्कर्ष अब सर्वथा गलत हुने अवस्था छ । त्यसैगरी रक्षाबन्धन बाँध्नेको रक्षा र नबाँध्नेको असुरक्षा हुन्छ कि भन्ने पनि कुनै विषय होइन । कुरा केवल आध्यात्मिक ग्रहणशीलताको हो । र कुरा चालु परम्पराबाट सही सन्देश लिएर यसलाई फरक ढंगमा अपनाउनुको हो । मानव सभ्यतामा ढुंगो देउताको रुपमा पुजिनु पनि यही विश्वासको कारण हो जसले जीवनलाई सत्मार्गमा डोर्याउन सहयोग पुग्छ । यसर्थ मूल कुरा ग्रहण गर्नेमा रहन्छ । जस्तो कि एउटा कवि कुनै हिमाललाई प्रेमिकाको रुपमा अर्थ्याउँछ, सादृश्य गराउँछ, त्यसैमा बग्छ र भावनाका सुन्दर अभिव्यक्तिहरु सिर्जना गर्छ भने आम मानिसले त्यो सौन्दर्यको भेउ विरलै पाउँछ । विश्वासमा आधारित आध्यात्म पनि यही कुरा हो । यहाँ वर्णित कविजस्तै विश्वासबाट अनुप्राणित भई नवशैलीमा आफुलाई एउटा अनुष्ठानमा बाँधेर आध्यात्मिक शान्ति वा मानसिक सन्तुष्टि लिने वा स्वतन्त्रताको नाममा सामाजिक परम्पराका तागत र सौन्दर्यलाई उपेक्षा गरीहिंड्ने ? छनौट फेरि पनि सर्वथा निजी हो ।