सम्झना छ तिमीलाई पनि ?
मेरो करेसामाथि
आफ्नो प्रयोगधर्मिताको
पहिलो अभ्यासस्वरुप
अनि सीप, कला र सफलताको
दसी पेश गर्न
तिमी कति आतुर-आतुर थियौ
र म कति असहाय समर्पित ?
सम्झिँदा पनि कति आनन्द ।
शिखर बनी अग्लिएका
तिम्रै तापमानले अन्ततः
पानी बनी पग्लिएका
शीतल हिँउका ती अनुभूतिहरु
मनको पानामा
ज्यूँ का त्यूँ उतार्न नसकेकोमा
मलाई पछुतो छ आफैसित
तर पनि
विस्मृतिको सहारा
अनि तिम्रा हिजोआजका पुनरावृत्त
अभ्यासहरु टेकी
म कोट्याउँदै छु आज फेरि
तिम्रो पहिलो गोडमेलको कथा
जहाँ सृष्टि रचाइको परीक्षामा जस्तो
आफ्ना हरेक ज्यावल तिखारी
तिमी जुटेका थियौ
एक तमासले
र होम्मिएका थियौ
मूल परिक्षामा वागवानीको ।
तिमीलाई पास हुनु थियो
जराजरा सिंची मेरा
एक फूल फुलाउनु थियो
र त तिमी
बगेका थियौ बेजोड
करेन्ट प्रवाह गर्दै
मेरा प्रत्येक हाँगा बिँगामा पुग्ने गरी
पावर हाउस सुरुङको
पानी बगेजस्तो
र फुलेथेँ म पनि ढकमक्क
तिम्रो करेन्टको प्रवाहसँगै
प्लस माइनस फेज जोडी
बत्ती बले जस्तो ।
अघि पछिकी
लज्जावती म
बिर्सेकी थिएँ त्यो दिन
आफैलाई
अन्यथा र्स्पर्शले गल्ने
मेरा अंग प्रत्यंगहरु
उदात्त, अद्भुत उत्तेजनाले बशीभूत
फुकेका थिए उल्टै बरु
र रसाएकी थिएँ म पत्र पत्र
तिम्रो सिंचाइको प्रमाण दिन
सम्झना छ माली तिमीलाई पनि ?
तप्प तप्प चुहिएकी पनि थिँए म
तिम्रै बगाइमा समाहित हुन ।।।
No comments:
Post a Comment