Friday, May 6, 2011

सम्झना छ तिमीलाई पनि ?

सम्झना छ तिमीलाई पनि ?
मेरो करेसामाथि
आफ्नो प्रयोगधर्मिताको
पहिलो अभ्यासस्वरुप
अनि सीप, कला र सफलताको
दसी पेश गर्न
तिमी कति आतुर-आतुर थियौ
र म कति असहाय समर्पित ?
सम्झिँदा पनि कति आनन्द ।

शिखर बनी अग्लिएका
तिम्रै तापमानले अन्ततः
पानी बनी पग्लिएका
शीतल हिँउका ती अनुभूतिहरु
मनको पानामा
ज्यूँ का त्यूँ उतार्न नसकेकोमा
मलाई पछुतो छ आफैसित
तर पनि
विस्मृतिको सहारा
अनि तिम्रा हिजोआजका पुनरावृत्त
अभ्यासहरु टेकी
म कोट्याउँदै छु आज फेरि
तिम्रो पहिलो गोडमेलको कथा
जहाँ सृष्टि रचाइको परीक्षामा जस्तो
आफ्ना हरेक ज्यावल तिखारी
तिमी जुटेका थियौ
एक तमासले
र होम्मिएका थियौ
मूल परिक्षामा वागवानीको ।

तिमीलाई पास हुनु थियो
जराजरा सिंची मेरा
एक फूल फुलाउनु थियो
र त तिमी
बगेका थियौ बेजोड
करेन्ट प्रवाह गर्दै
मेरा प्रत्येक हाँगा बिँगामा पुग्ने गरी
पावर हाउस सुरुङको
पानी बगेजस्तो
र फुलेथेँ म पनि ढकमक्क
तिम्रो करेन्टको प्रवाहसँगै
प्लस माइनस फेज जोडी
बत्ती बले जस्तो ।

अघि पछिकी
लज्जावती म
बिर्सेकी थिएँ त्यो दिन
आफैलाई
अन्यथा र्स्पर्शले गल्ने
मेरा अंग प्रत्यंगहरु
उदात्त, अद्भुत उत्तेजनाले बशीभूत
फुकेका थिए उल्टै बरु
र रसाएकी थिएँ म पत्र पत्र
तिम्रो सिंचाइको प्रमाण दिन
सम्झना छ माली तिमीलाई पनि ?
तप्प तप्प चुहिएकी पनि थिँए म
तिम्रै बगाइमा समाहित हुन ।।।

क्यान्सर पनि सर्दो रैछ

उपचार पद्धति होइन
उपचारकको तहकीकातको
छाला खुइल्याउँदै
विस्मृतिमा रहेका स्मृतिका पोका खोतल्दै
पुस्तौं पुस्ताका सन्ततिकी आमाको अश्रुसरितामा
मस्तिष्कमा सादृश्य बोकी-
माफी माग्दैछन् "धराबासीहरु"
आमाको मुख हेर्ने दिनमा ।

र, म पनि मुख हेर्दै वार्तालापमा छु
क्यान्सरले ग्रस्त मेरी आमासँग
भरतपुर अस्पतालको शैय्यामा-
"आमा !
क्यान्सर त र्सर्दैन भन्थे
र भन्थे लागेपछि यो
कुनै औषधीले छुँदैन
रोगी अंग काटी फाले पनि
रोग निको हुँदैन ।"

अनुमोदन गर्न मात्र लागेकी थिइन् मेरी आमा
मलिन आँखाको भाकामा
तर,
जिकिर गर्छु तत्काल- "हैन रैछ आमा
क्यान्सर पनि सर्दो रैछ
वायुका कण कणमा यो
बास बस्दो रैछ
क्यान्सरकै चिकित्सकहरुसँग
निहुँ खोज्दो रैछ
नभए सबका सब चिकित्सक
शैय्यामा मृत्युसँग पौँठेजोरी गर्दै
छटपटिइरहेका आर्तहरुलाई
अलपत्र पारी
किन डायग्नोस्टिक सेन्टरतिर हान्निन्थे र
संक्रमणको निदान खोज्न ?"

पत्याइन् क्यार मेरी आमा पनि
र कनी कुथी बोलिन्
गम्भीर संवेदनाको भावमा-
"हरे भगवान ! अनर्थ नहोस् क्यै विचरा डाक्टरहरुको,
नपुछियोस् सिन्दूर तिनका जहानहरुको,
बरु म बुढी मरे... -"
मुख थुन्छु म आमाको एकाएक
तर पनि रोकिन्निन् उनी-
"ठिकै गरेछन बाबु् !
तिनका रोग निको पार्ने
महाडाक्टर पनि उतैतिर छन्
उपचार पाए फर्केलान् नि चाँडै ।"

निःशब्द निरुपाय
म गल्छु एकाएक निराशामा पुरिएर
किनकि म देख्दैछु
मेरा आँखा अगाडि
चार वटा लाशहरु
आ-आफ्ना डेथ र्सर्टिफिकेट छातीमा राखी
कुरिरहेका छन् अस्पताल परिसरमा
उपचार्रार्थ निस्केका डाक्टरहरुलाई
लाश फुकुवाको सही छाप माग्न ।।।