Sunday, September 12, 2010

भाट चरी म

प्लेटोको गणराज्य भए यो
मेरो उठिबासै हुन्थ्योहोला
कला गलाका पारखी चरीको
सर्वश्व नाशै हुन्थ्योहोला
बाधा ठहर्याई आदर्श राज्यका
सख्त जरिवानै हुन्थ्योहोला ।

तर,
धन्य ठान्दैछु म आफुलाई
यस युगमा जन्म पाई
गीत संकोचमै किन्तु गाउन पाई
गन्तव्य त्रासमै किन्तु धाउन पाई
गुँडवाली हुँ म चाहे
गुँडविहीन नै सही
गर्भिणी हुँ वा बाँझी रही
सत्य सिर्जनाको धर्म निभाई
निजत्व बाँचेकी छु म
आजका दिनसम्ममा
शिकारी युगको यो
नवसंस्करणमा ।

चिरबीर गीत मेरा यहाँ पनि
लाग्दा हुन् कर्णकटु कतिलाई
बोल्दा हुन् मनमनै धावा पनि
टाङ च्यात्छु तेरा म भुँइमा बजारी ।

सम्झिन्छु मैना अल्पायूमै मरेकी
कु कु गर्दै कोइलीले गोली निलेकी
गौंथली मचानकी तारो बनेकी
विचरी परेवी त उठिबास भएकी
को पंखधारी छ यहाँ व्याधा उम्किएकी
शिवाय भाट चरी म संजोगले बचेकी ।

गर्दै गरुन् हुँकार ती ब्वाँसाहरु
पीछा गरुन् चाहे व्यग्र व्याधाहरु
भाट चरी हुँ म गीत गाउँदै गर्छु
सप्तसुर संगीतका पनि भर्छु–भर्छु
वन वन उड्दै म सदबीज छर्छु ।

र उमार्छु फलवृक्ष चरीका रैनबसेरा
गुन्जिनेछन् जहाँ चिरबिर गीत मेरा
फिंजाई सहअस्तित्वका मधुर वाणी
उघारी दिव्य नेत्र सबका बनाई ज्ञानी ।।।

No comments: