Monday, June 21, 2010

बेरोजगार मृत्यु

सुन्छु– जाजरकोटमा झाडापखालाले
दर्जनौको मृत्यु भो
अनि वीरगञ्जमा
कसैको अपहरणपछि मृत्यु भो
खबर आउँछन् त्यसैगरी
कतै सेनाको गोली लागी
आम नागरिकको मृत्यु भो
त कतै उपचार एवं खानै नपाई मृत्यु भो ।

हुन त मृत्यु
शाश्वत सत्य हो
तर हिजोआज
अस्वाभाविक रुप धारण गरी
भाडामा समेत बेचिंदो छ यो
अनैतिकताको साधन बनेर
उपद्रो गरिहिंड्दो छ यो
पीडकलाई होइन
पिल्सिएकैलाई उल्टो
निशाना बनाउँदै
बेथिति बसाउँदो छ यो ।

यस्तै बेथिति छल्न
अफगानिस्तान भास्सिएको कान्छो
मृत्यु जिउँदैछ
अनि खाडी छिरेको माइलो
उतै नाशियो
उपहारमा परिवार पीडा पिउँदैछ ।

घरै बसेको म पनि
रोग, भोक, शोकमा थप
अनाहक मृत्युको बादल मडारिंदा
नजानिंदो त्रासदी भोग्दैछु
अनि
निम्छरो जिजीविषामा
हजारौ युवासँगै
कोरिया उड्ने सपना बुन्दैछु ।

अनिश्चय र असुरक्षा
वर्तमानको पद्दति बनिदिंदा
जीवन त्यसै घिस्रँदो छ
कहिलेकांही त लाग्छ–
मृत्यु पनि
म जस्तै बेरोजगार
रन्थनिएर बरालिंदो छ ।।।

Tuesday, June 8, 2010

तमरा पैणा माटी पडि गै

भलादिमी नेता राःठौ,
इसो लै के पस्या
चेडो पखाली उन गाड
उब हेद्द पस्या
ठग्द ठग्या सोजा जन्तान्
रुनभुक्क छुटि गै
लडौन् पस्या जन्तान् तम,
तमरा पैणा माटी पडि गै ।।

बिसरी गया खाया कसम,
हमरी चानी लाइहाल्या
जन्ता जन्ता लडाईबटि,
हो भुण्ण गरिहाल्या
नाइ राख्ध्यौ थितिमिति,
सब बात जाणी गै
गरी हाल्या उपा सब,
तमरा पैणा माटी पडि गै ।।

बौलिग्यो कुले तमरो,
इमान धर्म भुलिगया
नयाँ नेपाल बनौने न्यौरा
बचेकुच्या लै लुटिखाया
सम्मिधान लेख्द्या कलम
झगडानुइ मा टुटि गै
बनाइहाल्या नयाँ नेपाल,
तमरा पैणा माटी पडि गै ।।

लेख्ला भुण्थ्या मिलिबटि सबै
सम्मिधान लेखिहाल्या
चोरजति मिल्या सप्पै
आफुनी चाड गरिहाल्या
मरन्ज्यालै नचेत्ते तम
तमरी होश फाम काँ गै
गरिखान लै नदिने भया
तमरा पैणा माटी पडि गै ।

रोग भोकमा जन्तान्का
अशान्ति लै थपी दिया
बेरोजगार वीरौन् हमरा
लडौने सूर कस्या
धन्य हो नेता राःठौ
ह्याँक त तमरी फेड्डी रै
गरि खान लै नदिने भया
तमरा पैणा माटी पडि गै ।।

आर्यघाटका दुईवटा धुनी

तिमी ज्यूँदा छौ
तिम्रा आँखा खुल्लै छन्
र छ जागृति तिमीमा
त्यसैले,
परम सत्यको समर्पणमा
भोलेनाथको नाममा
धुनी जगाउँदैछौ तिमी
महाशिवरात्रीमा ।

तर,
तिमीसँगै छ आर्यघाटमा
एउटा पार्थिव आकृति पनि
जो बन्द आँखाका वावजूद पनि
तिमीले कल्पेको सत्य ओढ्दै
जुटेको छ अन्तिम तयारीमा
आफ्नै अन्तिम धुनी जगाउन ।

फरक यत्ति–

तिमी आँखा खोल्दैछौ
सत्य वैराग्य अनुभूत गर्न
र, अर्काको धुनीमा लीन हुन ।

तर ऊ,
बन्द आँखाले संसार हेर्दोछ
र सुम्पिंदोछ
सत्य सार आज
आफ्नै धुनीमा
स्वयं विलीन हुन ।।