Thursday, February 4, 2010

तीन हाइकु

शून्य
अस्तित्वको आदि
अनि यसको अन्त
अङ्कअघि एउटा अर्थ
अङ्कपछि अर्कै अर्थ
गुणनको गर्तमा लुकेको
जीवनको गणित ।।।

परिधि
वृत्त पृथ्वीको
शून्य आकृति
त्यही आकृतिको
अन्तिम रेखा
रुसोको जन्जीर
वा हाम्रो लक्ष्मण रेखा
सीमित–असीमित
दुवैको सीमा ।।।

जीवन
शून्य गुणनको
परिणाम बिर्सी
माया, मद, मुद्राको
एकोहोरो लेखा राख्दै
छाल, काल, तथा ज्वारका
प्रत्येक परिधि नाघ्न उद्धत्
सागर तर्न खोज्ने
छिद्रयुक्त डुङ्गा ।।।

काठमाण्डौ

काठमाण्डौ छोड्न मनै छैन
काम धन्दा पनि खासै छैन
खाँदा पिउँदा डुल्दा डुल्दै
दिन ढलेको पत्तै हुँदैन
जागिर गतिलो खोज्दा खोज्दै
आशै आशको त्यान्द्रो बुन्दा
प्रत्येक उस्तै दैनिकीसँगै
महल सपनाको सोच्दा सोच्दै
आफै हराएको पत्तै छैन
तैपनि खै किन हो किन
काठमाण्डौ छोड्न मनै छैन

नवयौवनाका फेशनसँग हो कि
अधबैंशेका दैनिन्दिनीसँग हो
वा समग्र शहरकै रमझमसँग पो हो
दाँज्दैछु आफूलाई तैपनि पर्याछु दंग
खै कस्तो माया बसेछ यस कान्तिसँग
भ्रम पालेर मैले
ज्ञान लिन सकेको हैन
अभावै अभावमा डुब्दा पनि
काठमाण्डौ छोड्न मनै छैन

सपना धेरै देखिन्छन् यहाँ
विपना अल्पायुमै सती जान्छन
उड्ने उडाउनेको सहरमा हराई
विषमताबीच जिउने कस्तो रहर यो
परम आनन्दको स्वाड. रची मैले
चीर निन्द्रा खोलेको हैन
काकाकूल भई बाँचे पनि
काठमाण्डौ छोड्न मनै छैन

सभ्य सहरिया बन्ने धूनमा
मौलिकता मैले सबै हराएछु
सपनाका पदचाप पछ्याउने निहुँमा
बाटो जीवनको अन्तै विराएछु
अरुलाई ढाँट्ने निहुँमा मैलै
आफै ढाँटिएको चाल पाएको हैन
यति विघ्न भासिंदा पनि
गुहार माग्ने सोचेकै छैन
कुन्नि के हात लाग्छ अन्तमा
कुनै अत्तो पत्तो छैन
तैपनि खै किन हो किन
काठमाण्डौ छोड्न मनै छैन ।