अतृप्तिका गुनासा जति मनमनै मार्छौ किन
चाह लुकाई प्रत्येक कुरा बातैपिच्छे टार्छौ किन ?
उत्कण्ठाले पीडा दिन्छ अँचेटी यसलाई सँगालेर
नबोलेरै आँखाबाट आँसु तिमी झार्छौ किन ?
पीडा पोखे घट्छ था' छ साँची यसलाई मनमुटुमा
नभनेरै कसैसँग त्यसै तिमी टोलाउँछौँ किन ?
आफ्नो मान्छे आफ्नै हुन्छ मर्दा पर्दा साथ दिने
विरानोको स्वाङ रची मनमा गाँठो पार्छौ किन ?
अनन्तको हाँसोको मोल बिर्सेजस्तो रुन्चे बनी
दुख हुर्काई आफैभित्र खुशी तिमी साँच्छौँ किन ?
भूत भविष्यकै पिरलोमा वर्तमानको वैवभ विर्सी
निराश भई यतिविघ्न जुध्नेबेला हार्छौ किन ?
विषमताकै लेखा राखी अँध्यारो मात्र देख्ने बनी
जित्ने खेल जीवनका नखेलेरै हार्छौ किन ?
चाह लुकाई प्रत्येक कुरा बातैपिच्छे टार्छौ किन ?
No comments:
Post a Comment