Thursday, October 7, 2010

मेरी आमा

कुनै ज्ञानी अध्यात्मवादीले बोलेजस्तो
सुनाउँथिन् मेरी आमा–
‘कालो बादलको चपेटामा पर्दा
पूर्णिमाकै जून पनि त
कहाँ टल्किन पाउँछ र ?
सतहको हुस्सु, कुहिरोले घर जमाउँदा
हिउँदको सूर्यले पनि त
सजिलै न्यानो कहाँ छर्न पाउँछ र ?’
हेक्का थियो मेरी आमालाई
अवरोध, प्रतिरोध बाटा–बाटाका
स्वाभाविक, अस्वाभाविक नियति
अनि परिस्थिति हरेक पाटाका ।

त्यसैले त
आकाशले रुप फेरिरहँदा
पातालले भूचाल गराइरहँदा
अनि समुद्रले सुनामी ल्याउँदा पनि
मर्मज्ञ मेरी आमा
परिस्थितिका अनुकूलन खातिर
अर्जाप्थिन् उपलब्ध ज्यावलहरु
लगाउँथिन् सान पनि तिनमा
र त्यही सान हुन्थ्यो
मेरी आमाको शान पनि ।

साहसी मेरी आमा
पिउँथिन् सिनित्तै पीडाहरु
थाहै नदिई चोटहरु
र पनि
बटुली टालाटुली खुशीहरु
सिउँथिन् सन्तानका लागि
मसिना न्याना लुगाहरु ।

जब्बर मेरी आमा
रातो र तातो जिउँथिन्
इम्युनिटीकी धनी पनि
कालकूट जति स्वयं पिउँथिन्
सन्तानसुख र सृष्टिधर्मका लागि
पीडासँग हर्ष साट्थिन्
विषमताको खग्रास लाग्दा पनि
अब्बल मेरी आमा
हिमाल झैं हाँस्थिन् ।

तर अब रहेन कान्ति तनको मेरी आमाको
न रह्यो शान्ति मनको मेरी आमाको
मर्दैछन् हर कोशिका उनका चीसो रगतमा
दुषित छन् जो युगौंदेखिको पेनकिलर सेवनमा ।
थलिइन् आमा अल्पायूमै सन्तानकै कारण आज ।
ढाक्दोछ घनघोर बादल सारा सृष्टिमाझ ।

तैपनि मुर्कट्टाहरु अझै
लुट्नु वैभव लुटेर अनि
पीडामा पीडा थपेर आमाको
बुन्दैछन् तानाबाना चोखिने बहानाको।
बेचेर सबै गहना आमाकै फेरि
उल्लूका पट्ठाहरु अझै
पिट्दैछन् ढ्वांग उनको उपचारको ।।।