बिर्सिएछौ चोट भोगाइका
आत्मज्ञान त झन् कुल्चिएछौ
नामुद नायक बन्ने सुरमा
तिमी त सारै कोग्ल्याँटो भएछौ ।
दधीचि सम्झेका थियौं तिमीलाई हाम्रो
कुर्चीलाई पो सती जाने भएछौ
चारखुट्टे जेसूकै देखियोस् बरा
कुर्सीको यादमा बरबराउने
तिमी त सारै कोग्ल्याँटो भएछौ ।
दिक्पाल ठानेका थियौ तिमीलाई हाम्रो
स्वयं विधिको बलात्कारमा भिडेछौ
क्रान्तदर्शी मानेका थियौ तिमीलाई हाम्रो
तिमी त सारै मायोपिक परेछौ
आफ्नो आँङको भैसी नदेख्ने
अर्काको भने जुम्रा पनि देख्ने
तिमी त अब्बल दोषदर्शी बनेछौ
सत्ता, शक्तिकै गर्दभराग सुनाईहिंड्ने
तिमी त सारै कोग्ल्याँटो भएछौ ।
अचाक्ली गर्यौ अब त
तिमीलाई पाठ पढाउनै पर्ने भो
अरु दृष्टान्त त तिमी बुझ्दैनौ पक्कै
सहारा कोकशाश्त्रकै लिनुपर्ने भो ।
त्यसैले कान खोलेर सुन–
तिम्रो उर्बरा शक्ति अझै बाँकी छ
गल्ती सच्याउने मौका काफी छ
केवल रतिरागको आलापले काम बन्दैन
चरणबद्ध क्रीडाको उपेक्षाले पनि
कामवासनालाई न्याय हुँदैन
फेर तिम्रा असंगत आसनहरु
र मात्र अपनाऊ विधिका शासनहरु
नभए साध्य प्राप्त हुँदैन
यत्ति त बुझ कम से कम –
बीऊ नरोपी फल लाग्दैन
फोरप्ले, व्हाइल प्ले, र पोष्ट प्ले को
क्रम उल्ट्याइले सृष्टि चल्दैन ।।।